जी. न्यौपाने, मकवानपुर, ३ फागुन । नेपालका प्रथम सहिद क्याप्टेन लखन थापा मगरको १४७ औँ स्मृति दिवसको अवसरमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ स्थित सहिद लखन थापा मगर स्मृति बाटिकामा रहेको थापाको प्रतिमामा माल्यार्पण गरिएको छ ।
नेपाल मगर संघ जिल्ला समन्वय समिति मकवानपुर र सहिद लखन थापा मगर स्मृति बाटिका समितिको संयुक्त आयोजनामा सहिद थापा मगरको सम्झना गरिएको थियो । सहिद लखन थापा मगर स्मृति बाटिकाका अध्यक्ष विश्वकुमार आले मगरको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी (छिन्तु) को प्रमुख आतिथ्यता रहेको थियो ।

यसैगरी हेटौँडाको बुद्ध चोकमा सहिद स्मृतिमा दिप प्रज्वलन समेत गरिएको थियो । कार्यक्रममा नेपाल मगर संघ अनुशासन समितिका संयोजक अशोक सारु मगर, मगर संघ बागमती प्रदेशका उपाध्यक्ष खेम जर्गा मगर, सचिव रामकुमार थापा मगर र जिल्ला अध्यक्ष सन्देश तुमसिङ मगरको आतिथ्यता रहेको थियो ।











