जी. न्यौपाने, मकवानपुर, ९ फागुन । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ को शैक्षिक मेला सम्पन्न भएको छ । वडा शिक्षा समितिको आयोजनामा फागुन ७ गतेदेखि शुरु भएको मेलामा ८ वटा सामुदायिक विद्यालय र २ वटा निजी विद्यालयले शैक्षिक प्रदर्शनी गरेका थिए ।
वडा नम्बर १५ का वडाअध्यक्ष सुनिल मुक्तानको सभाध्यक्षतामा भएको समापन कार्यक्रममा बागमती प्रदेशका पूर्व मूख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि पौडेलले छात्रछात्रालाई उचित शिक्षा प्रदान गर्न शिक्षकशिक्षिकाहरुलाई आग्रह गरे । शिक्षा विकासको लागि अनिवार्य रहेको र व्यावहारिक शिक्षामा पनि सबैले जोड दिनुपर्ने पौडेलको भनाई थियो ।

कार्यक्रमका विशिष्ट अतिथि तथा बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले शिक्षाले बालबालिकाको भविष्य सुनिश्चित गर्ने भएकोले शिक्षा अनिवार्य रहेको बताए । उनले बालबालिकाहरुको शिक्षामा गरिने लगानी खेर नजाने कुरा बताए ।
वडा नम्बर १५ लाई शैक्षिक हबको रुपमा विकास गर्ने उदेश्यले शैक्षिक मेलाको आयोजना गरिएको वडाअध्यक्ष सुनिल मुक्तानले जानकारी दिनुभयो । हेटौँडाको फारलाईनमा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष फुर्वा दोर्जे तामाङ, विद्यालयका प्रधानाध्यापकहरु, विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।










