
जी. न्यौपाने, मकवानपुर, १२ फागुन । निर्माण व्यवसायीहरुको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघको साधारसभा हेटौँडामा हुने भएको छ । नेपाल निर्माण व्यवसायी महासंघ बागमती प्रदेश हेटौँडाको कार्यालयमा भएको पत्रकार सम्मेलनमा वार्षिक साधारणसभा बारे जानकारी दिइएको हो ।
संघका जिल्ला महासचिव राजेन्द्र प्रसाद चौँलागाईका अनुसार वार्षिक साधारणसभा आउँदो चैत्र १६ र १७ गते हुनेछ । करिब १ हजार ८ सय निर्माण व्यवसायीहरुको सहभागितामा रहेको ७७ वटै जिल्लाका शाखा प्रतिनिधि आवद्ध साधारण सदस्य, एशोसिएट र वस्तुगत सदस्य, पर्यव्यक्षक, अन्तराष्ट्रिय स्तरका ख्यातिप्राप्त निर्माण व्यवसायीहरु, निर्माण सामग्री विक्रेता र उद्योगपतिहरुले सभामा भाग लिनेछन् ।
‘‘यस्ता कार्यक्रमहरु काठमाडौँमा मात्र हुने गरेकेको थियो, हाम्रो सल्लाहकारहरुको पहलमा हेटौँडामा केन्द्रीय स्तरको कार्यक्रम गर्दैछौँ’’– महासचिव चौँलागाईले भने । यस्ता कार्यक्रमहरुले आन्तरिक पर्यटनको क्षेत्रमा थोरै भएपनि मदत पुग्ने आफुहरुको विश्वास रहेको उनले बताए ।
महासंघका जिल्ला अध्यक्ष बालगोपाल कँडेलको सभाध्यक्षतामा भएको पत्रकार सम्मेलनमा संघका सल्लाहकार आनन्दराम पराजुली, पूर्व अध्यक्षहरु र पत्रकारहरुको सहभागिता रहेको थियो । करिब १ करोड लगानीमा कार्यक्रम सम्पन्न हुने र सभामा देशैभरका २ हजार सदस्यहरुको सहभागिता रहने संघले जनाएको छ ।