मकवानपुर । नेपाल सरकारको आर्थिक वर्ष २०८१–०८२ को बजेट वक्तव्य आज ३ बजेको लागि सरेको छ । यसअघि आज दिउँसो १ बजेका लागि तय भएको बजेट भाषण सरकारकै अनुरोधमा ३ बजेका लागि सरेको हो । बजेट वक्तव्यका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक आज बस्दैछ ।

संवैधानिक व्यवस्थाअनुसार नयाँ आर्थिक वर्षका लागि जेठ १५ गते सङ्घीय संसदमा बजेट प्रस्तुत गर्नुपर्ने हुन्छ । सरकारले आउँदो आर्थिक वर्ष २०८१–०८२ को बजेट ठूलो आकारकै ल्याउने तयारी गरेको छ । अर्थमन्त्री वर्षमान पुनले झन्डै साढे १९ खर्ब रुपैयाँको बजेट पेश गर्ने गरी तयारी भएको बताइएको छ ।

राष्ट्रिय योजना आयोगले यसअघि सरकारलाई १८ खर्ब रुपैयाँको सीमामा रहेर आउँदो आर्थिक वर्षको बजेट ल्याउन सुझाएको थियो । तर सरकारले चालू आर्थिक वर्षको भन्दा केही ठूलो आकारको बजेट ल्याउने तयारी गरेको छ ।

चालू आर्थिक वर्षमा सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।