मकवानपुर, २२ जेठ । मकवानपुरको मनहरी गाउँपालिकाले निर्माण गरेको ३ वटा पक्की पुल जेठ २६ गते उद्घाटन हुने भएको छ । आईतबार बसेको गाउँ कार्यपालिका बैठकले पुलको उद्घाटन गर्ने मिति तय गरेको हो ।

पुल उद्घाटनका लागि प्रमुख अतिथीको रुपमा मकवानपुर क्षेत्र नं २ (ख) बाट निर्वाचित बागमती प्रदेशका सांसद ईन्द्रबहादुर बानियाँ आउने तय भएको गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले जानकारी दिए । मनहरी गाउँपालिकाले गत आर्थिक वर्ष ०७७–०७८ मा आन्तरिक श्रोतबाट ५ वटा पक्की पुल निर्माणको काम सुरु गरेको थियो । कुल ३३ करोड ४० लाख ६५ हजार लागतमा वडा नम्बर १,२,३, र ४ जोड्ने च्यापल खोला, हाँडिखोला, ट्वाङ्ग्रा खोला, मसिने खोला र ठाडो खोलामा गरी ५ वटा पुलको ठेक्का लागेको हो ।

हाल ट्वाङ्ग्रा खोला, मसिने खोला र च्यापल खोला पुलको निर्माण कार्य सम्पन्न भइसकेको छ । बानीयाँ कन्स्ट्रक्सनसँग सम्झौता गरी निर्माण सम्पन्न भएको उक्त ३ वटै पुल २६ गते उद्घाटन गरीने अध्यक्ष कालाखेतीको भनाई छ ।

साथै अन्य दुईवटा पुलको निर्माण कार्य मंसिरसम्म सम्पन्न भइसक्ने उनले बताए । ठाडोखोला पुल निर्माण कार्य ८५ प्रतिशत र हाँडिखोला पुल ६३ प्रतिशत सम्पन्न भइसकेको अध्यक्ष कालाखेतीले दाबी गरेका छन् । पुल निर्माण मंसिरसम्म सम्पन्न हुने उनले बताए ।