मकवानपुर, ७ असार । मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका –११ थानाभर्‍याङबाट भन्सार छली ल्याइएका ५८ कार्टुन भेप तथा भेपको फ्लेवरसहित ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार साँझ काठमाडौंबाट हेटौँडाहुँदै भारतको दिल्लीतर्फ जान लागेको ना ६ ख ७१६३ नम्बरको यात्रु बाहक बसमा दुई करोड ७१ लाख २१ हजार ७ सय ८० मुल्य बराबरको अवैध भेप तथा भेपको फ्लेवर फेला परेको मकवानपुर प्रहरीले जानकारी दिएको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा बस चालक दोलखा भिमेश्वर नगरपालिका–२ बस्ने ३७ वर्षीय सलाम मोक्तान, सहचालक उदयपुर कटारी नगरपालिका–११ बस्ने २७ वर्षीय प्रबिन्द्र राना, नुवाकोट दुप्चेश्वर गाउँपालिका–७ घर भएका ३९ वर्षीय इन्द्रबहादुर दर्जी, सोही ठाउँका ३० वर्षीय सन्तोष भुसाल र धनकुटा बेलारा नगरपालिका वडा नम्बर–१६ बस्ने २९ वर्षीय राजकुमार हिमाङ रहेका छन् ।

बसमा भारत जाने यात्रुसमेत रहेको र बस भारत नेपाल ओहोरदोहोर गर्ने नभइ अवैध भेप तस्करीकै लागि भाडामा लिएर प्रयोग गरेको अनुसधानबाट खुलेको प्रहरीले जनाएको छ । यात्रु बस्ने सिटमाथि सिलिङको भागमा फल्सबटम बनाएर भेप लुकाएर राखेको अवस्थामा प्रहरीले फेला पारेको हो ।

मकवानपुर प्रहरीका अनुसार ती समानहरु काठमाण्डौको बालाजु बसपार्क भन्दामाथि भत्केको पुलको एरियाको रमाईलो डांडाबाट लोड गरेको पाइएको छ । प्रहरीको अनुसन्धानबाट बस नेपाल दिल्ली चल्ने आधिकारिक बस नभएको र बसलाई केहि व्यक्तीहरुले भाडामा लिई एक महिनाको लागि नेपाल, भारत र अन्य देशका यात्रुहरुलाई भारत घुमाउने भनि नेपालस्थित भारतिय एम्बेसीबाट असार ५ गते रोड पर्मिट लिईएको समेत खुलेको छ । प्रहरीका अनुसार तस्करहरुले बसमा कुवेतबाट आएका भारत घर भएका यात्रुहरुलाई विभिन्न मान्छेहरु मार्फत संम्पर्क गरी ल्याएको र बसमा सवार यात्रुहरुलाई विश्वास दिलाउन नेपाल – भारतको दिल्ली चल्ने बस हो भनि भिजिटिङ कार्ड समेत दिईएको पाइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तीहरु मध्ये केहि व्यक्तीले पहिले पनि पटक पटक यस्ता किसिमको भन्सार छलिका अवैध समानहरु ल्याउने लैजाने गरेको समेत अनुसन्धानका क्रममा खुलेको मकवानपुर प्रहरीले जनाएको छ ।