मकवानपुर । अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध भएका छन् । वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ । तराईमा बाढीका कारण बस्ती डुबानमा परेका छन् ।

शुक्रबार रातिदेखि अविरल परेको वर्षाका कारण पहिरो खस्दा हेटौँडाबाट काठमाडौँ आवतजावत गर्ने २ सडक बन्द भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार अहिले कान्तिलोकपथ सडकखण्ड अन्तर्गत भिमफेदी गाउँपालिका वडा नम्बर ८ महादेवटार, प्रतापडाँडा र बकैया गाउँपालिका वडा नम्बर १२ को आले र बकैया ११ को सिमात घुम्तीमा पहिरो खसी बाटो पुर्णरुप अवरोधभएपछि यो सडक बन्द भएको छ ।

त्यस्तै भिमफेदी गाउँपालिका वडा नम्बर ४ रातोमाटे, ईन्द्रसरोबर गाउँपालिका वडा नम्बर ५ माहालक्ष्मीखोला नजिक, मातातिर्थ, चखेल र देउराली जाने बाटो पहिरो खसी बाटो पुर्णरुपमा अवरोध भएको छ ।

अविरल वर्षासँगै आएको पहिरोले सिद्धार्थ राजमार्ग विभिन्न ठाउँमा अवरुद्ध भएको छ । बिहीबार रातिदेखि निरन्तर आइरहेको पानीले सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गको ठाउँ ठाउँमा पहिरो गएको छ । स्याङ्जा–वालिङ सडकको भीरकोट–४ छाङ्छाङ्दी नजिक आज बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

पहिरोले विपी राजमार्ग अवरुद्ध भएको छ । सिन्धुलीको सुनकोसी गाउँपालिका–२ कमिरेफाँटमा पहिरोले सडक अवरुद्ध भएको हो । राजमार्ग माथिबाट पहिरोसहित बगेर आएको लेदोले आज बिहानैदेखि यातायात सेवा ठप्प छ । राजमार्ग अवरुद्ध हुँदा बिहानैदेखि सयौँ सवारीसाधन बाटोमै रोकिएका छन् । यात्रु अलपत्र परेका छन् ।

यसैबीच मध्यमहाडी राजमार्गअन्तर्गत रहेको गोलञ्जोर गाउँपालिका–६ अकरेभिर र फिक्कल गाउँपालिका–२ सुनामबेँसीमा पनि पहिरोसहित बगेर आएको लेदोले बिहानैदेखि सडक अवरुद्ध भएको थियो । अहिले सो क्षेत्रमा पहिरो पन्छाएर यातायात सेवा सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

पहिरोले बेसीँसहर चामे सडक अवरुद्ध भएको छ । यस सडकअन्तर्गत लमजुङ जिल्ला मस्र्याङ्दी गाउँपालिका–४ हावाडाँडा सडक माथिबाट आज बिहान पहिरो आउँदा पूर्णरुपमा सडक अवरुद्ध भएको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयले जनाएको छ ।

दाङको घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत सेवारखोलामा बनाएको डाइभर्सन बगेको छ । बाढीले आज बिहान उक्त डाइभर्सन बगाएको हो । सो ठाउँमा असहले आवतजावत ठप्प छ । जिल्ला प्रशासन कार्यालय दाङले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ । घोराही उपमहानगरपालिका–१६ सेवारखोलामा चार लेनको पक्की पुल अधुरै छ ।