मकवानपुर, २३ असार । मकवानपुर जिल्लाका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानको समस्या देखिएको छ । निरन्तर पानी परेपछि जिल्लाका विभिन्न स्थानमा डुबानबाट सबैभन्दा बढी मानिसहरु प्रभावित भएका छन् ।

भिमफेदी गाउँपालिका वडा नम्बर ३ निबुवाटारमा पहिरो जाँदा केही यात्रुहरु घाईते हुनुका साथै बाटो एकतफी रुपमा मात्रै संचालनमा आएको छ । त्यस्तै बाढीका कारण बाघझोरा स्थित सडक अवरुद्ध भएपछि केही घण्टा यात्रुहरुलाई सास्ती भएको थियो ।

त्यस्तै हेटौँडा उपमहानगरपालिका वडा नम्बर १,५ र ७ मा बाढीका कारण डुबानको समस्या देखिएको छ । वडा नम्बर १ को राप्ति नदि आसपासका क्षेत्र, वडा नम्बर ५ का सानोपोखरा, पिप्ले, शान्ति नगर, भैरव रोड लगायतका क्षेत्रमा पनि डुबानका कारण स्थानीयहरु प्रभावित भएका छन् ।

त्यस्तै मकवानपुरगढी गाउँपालिका वडा नं २ छाप किर्तीडांडामा रहेको बेबि एग्रीकल्चरको गाई फर्म भासिएर गोठमा रहेका ४ वटा गाई पुरिएको छ । सुरक्षाकर्मी र स्थानीयको सहयोगमा गाईलाई जिवितै निकालिएको छ ।