मकवानपुर । हेटौँडामा २ हजार युवाहरलाई सिप विकास तालिमको प्रमाणपत्र वितरण गरिएको छ । बागमती प्रदेश युवा परिषदको आयोजनामा सञ्चालन भएका विभिन्न तालिममा सहभागी युवाहरुका लागि आज हेटौंडामा भएको दिक्षान्त समारोह कार्यक्रममा प्रमाण पत्र प्रदान गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मुलुकमा युवामैत्री सरकारको आवश्यकता रहेको बताएका छन् । सभामुख घिमिरेले मुलुकमा युवा नीति र युवामैत्री सरकारको आवश्यकता बढ्दै गएको दाबी गरेका हुन् ।

सभामुख घिमिरेले सिप र क्षमतायुक्त युवा उत्पादन गरेको देश समृद्ध बन्ने दाबी गरे । अब विकास निर्माणका काममा सरकारले युवालाई अगाडी बढाउनुपर्ने बताउँदै सभामुख घिमिरेले अहिले पनि युवालाई आकर्सित गराउने काममा कमी रहेको बताए ।

कार्यक्रममा विभिन्न तालिममा सहभागी युवाहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । परिषदद्वारा २ हजार जना युवाहरुलाई आज हेटौंडामा भेला पारेर प्रमाणपत्र वितरण गरिएको हो । तालिममा मकवानपुर, चितवन र सिंधुली जिल्लाका युवाहरु सहभागी भएका थिए । युवा सिप वर्ष २०८१ अन्तरगत सञ्चालित निःशुल्क सिप विकास तालिमहरु प्रदान गरिएको हो ।

कार्यक्रममा संघीय संसदका मुख्य सचेतक तथा मकवानपुर क्षेत्र नम्बर–२ का प्रतिनिधिसभाका सदस्य महेश कुमार बर्तौलाले स्वरोजगार बन्नका लागि तालिमबाट सिकेका सिपले काम गर्ने बताए । युवाहरुलाई उत्पादनसंग जोड्नुपर्ने उनले बताए । युवाहरुको आसाको रुपमा अहिलेको सरकार रहेको बर्तौलाले बताए ।

कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशका निबर्तमान आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ लगायतले मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रम प्रदेश युवा परिषदका कार्यकारी अध्यक्ष सन्तोष चौलागाइको अध्यक्षतामा भएको हो ।