मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले बिना अध्ययन कर वृद्धि गरेको विषयमा आन्दोलनरत व्यवसायीले शुक्रबार हेटौँडा बजार क्षेत्र बन्द गरेका छन् । उनीहरुले बजार क्षेत्रका आफ्ना पसल तथा व्यवसाय बन्द गरेर हेटौँडा उपमहानगरपालिकमा साँचो बुझाउँदै बिरोध समेत गरेका छन् ।
शुक्रबार दिउँसो १२ बजेसम्मका लागि पसल बन्द गरिएता पनि अहिले भने बजार खुलिसकेको छ । साथै आजै दिउँसो ४ बजे व्यवसायी र उपमहानगरपालिकाबीच वार्ता हुँदैछ ।
शुक्रबार नगरप्रमुख प्रमुख मीना कुमारी लामा र उपप्रमुख राजेश बानियाँलाई सांकेतिक रुपमा नमूना साँचो हस्तान्तरण गरेर व्यवसायीले विरोध जनाएका हुन् । हेटौँडाका व्यवसायीहरुले गत सोमबारदेखि कर वृद्धिको विरुद्धमा आन्दोलन सुरु गरेका थिए ।












