मकवापुर । तामाङ पत्रकार संघ मकवानपुरका उपाध्यक्ष समेत रहेका मकवानपुरे पत्रकार सन्देश थिङले मनहरीको एक विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेका छन्। थिङले मनहरी–२, भुन्द्रुङ्गटाँडीमा अवस्थित श्री सीता माध्यमिक विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेका हुन्।
उनले आफ्नो २८ औं जन्मदिनको अवसरमा माविमा अध्यनरत १–५ कक्षासम्मका करिब २ सय विद्यार्थीलाई एक समारोहबिच कापी र सामुहिक रुपमा खेल्नका लागि २ थान फुटबल हस्तान्तरण गरे।
पढ्नकै लागि पर्सा जिल्लाको सिमाना मनहरीको भिमानदेखि करिब ३ घण्टा हिँडेर आउनुपर्ने विद्यार्थी लक्षित गरि सामाग्री हस्तान्तरण गर्न पाएकोमा उनले खुशी व्यक्त गरे। जन्मदिनमा केकहरु काटेर खर्च गर्नुभन्दा साना भाइबहिनीहरुलाई मदत गर्ने लक्ष्य बोकेर थिङ आफ्नो पूर्व विद्यालयमा पुगेका हुन् । सानो छँदा विद्यालयका पढ्न आफुले गर्नुपरेको संघर्ष र अन्य साथीहरुको पनि बाध्यता र संघर्ष देखेका उनले विद्यार्थीहरुलाई थोरै भएपनि मदत गर्न पाउँदा खुशी लागेको बताएका छन् ।
पत्रकार थिङ आफैले पनि सोही विद्यालयमा कक्षा ८ सम्म अध्ययन गरेका थिए । शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्दै विद्यालयका शिक्षक बुद्ध बुढाथोकीले शुभकामना तथा आभार व्यक्त गर्दै जन्मदिनमा सामाजिक कार्यमा जोड दिने थिङबाट अहिलेका युवाहरूले पाठ सिक्न सकिने बताए।
मनहरी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजकुमार पाख्रीनको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रम माविका प्रधानाध्यापक दुधलाल घलानको सभाध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा अखिल समाजवादी केन्द्रिय सचिवालय सदस्य तथा मकवानपुर इन्चार्ज सुर्य बहादुर गोले,नेपाल तामाङ कलाकार संघ मकवानपुर सचीव विक्रम लुङ्बा, सदस्य हेमकुमार तितुङ नेपाली काँग्रेस मनहरी २ नम्बर वडा इकाई उपसभापति शान्ति माया थिङ, सचीव सोबित वाईबा, माविका शिक्षक अभिभावक संघ अध्यक्ष रविन्द्र डिमडुङ, नेकपा एमाले मनहरी २ नम्बर वडा कमिटी अध्यक्ष इन्द्रदेव वाईबा, अखिल समाजवादी मकवानपुर अध्यक्ष सुवास तामाङ, दिगो विकास सहकारी अध्यक्ष माधव स्याङ्तान लगायतले मन्तव्य दिएका थिए ।