मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ दोस्रो टोल विकास स्तरीय नकआउट फुटबल प्रतियोगिताको फाईनल खेल आज हुँदैछ । आज हुने फाईनल खेलमा ऋषेश्वर टोल विकास संस्था र सुनौलो टोल विकास संस्था भिड्ने आयोजकले जनाएको छ ।

सेमिफाईनलमा परिवर्तनशिल टोल विकास संस्थालाई १–० गोल अन्तरले पराजित गर्दै ऋषेश्वर फाईनलमा पुगेको थियो । त्यस्तै सेमिफाईनलमा भिडेको सुनौलो टोल विकास संस्था र श्रृजनशिल टोल विकास संस्थाबिचको टिम रोकिएपछि टसमार्फत फाईनलमा पुग्ने टिम फाईनल गरिँदा सुनौलो टोल विकास संस्था फाईनलमा पुग्न सफल भएको थियो ।

आज हुने फाईनल खेल दिउँसो १ बजे हुने ऋषेश्वर टोल विकासका खेलाडी विनायक घलानले जानकारी दिए । ऋषेश्वर टोल विकास संस्थाको आयोजनामा भएको खेल रियल स्टार खेल मैदान रमन्टारमा हुँदैछ । टोल विकास संस्थाको तर्फबाट आयुष थापा मगर र साजन पाख्रिनले खेलको संयोजन गर्दैछन् ।

२०८१ कात्तिक ८ गतेदेखि सुरु भएको खेलमा २० वटा टिमहरुको सहभागिता रहेको थियो । १२ नम्बर वडा कार्यालयको प्रायोजनमा भएको खेलको विजेताले नगद २५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १७ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।