मकवानपुर । आज कात्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशी । यसदिन मकवानपुरको विभिन्न स्थानमा रहेको मन्दिरमा मेला तथा जात्रा लागेको छ ।

हरिबोधनी एकादशी पर्वमा प्रत्येक वर्ष झैँ यस वर्ष पनि मकवानपुरको विभिन्न स्थानमा रहेको मन्दिर परिसरमा मेला तथा जात्रा लागेको हो । आज जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्वर १ स्थित त्रिभुवन राजपथ सडकखण्डमा पर्ने त्रिखण्डी मन्दिमा परिसरमा मेला लागेको छ । त्यहाँ आज बिहानैदेखि पूजाआजा गर्ने भक्तजनहरुको बाक्लो भिड लागेको छ ।

सो मन्दिरमा पूजा गर्न र रमाउन मकवानपुरलगायत छिमेकी जिल्ला चितवन, बारा, पर्साका मानिसहरु पनि आएका छन् । यस्तै, भीमफेदी गाउँपालिका वडा नम्वर ४, गोल्पिङ र भीमफेदी–७, कोगटेमा पनि आज मेला तथा जात्रा लाग्नेछ ।

यसैगरी, आज मकवानपुरको उत्तरीक्षेत्र थाहा नगरपालिका–४ दामनस्थित ऋषेश्वर मन्दिर, मकवानपुरगढी गाउँपालिका वडा नम्वर–२ स्थित गढी दरबार रहेको मन्दिरमा समेत जात्रा लागेको छ । सबै मन्दिरहरुमा भक्तजनहरुको सुरक्षालाई मध्येनगर गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिहानैदेखि सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ ।