मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा आइतबार भिरबाट लडेर एक किशोरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कैलास–२, छाङदुङ निवासी १७ वर्षीय पवन उर्फ पावल प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।
प्रवक्ता अर्यालका अनुसार, मनहरीबाट आफ्नो घर जाने क्रममा एक्कासी मनहरी–७ को पेन्चे भिरबाट लडेर उनी गम्भीर घाइते भएका थिए । गम्भीर घाइते उनलाई तत्काल उद्दार गरी उपचारको लागि चितवनको नँया मेडिकल कलेज भरतपुरमा लगिएको थियो ।
उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रवक्ता अर्यालले बताए । मृतक प्रजाको शव हाल सोही अस्पतालमा राखिएको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता अर्यालले बताए ।