मकवानपुर । हाइटेन्सन लाईनको तार चुडिएर भुईमा लत्रिएको अबस्थामा करेन्ट लाग्दा मकवानपुरमा एक जनाको मृत्यु भएको छ ।मनहरी गाउँपालिका वडा नम्बर –८ दारीमबासमा ११ हजार भोल्टेजको हाइटेन्सन तारमा करेन्टलागेर स्थानीय ३८ वर्षिय मंगल सिंह प्रजाको मृत्यु भएको हो ।

करेन्ट लागी लडिरहेको अवस्थामा प्रजालाई देखी स्थानीयले प्रहरीलाई खवर गरेका थिए । यही स्थानमा करेन्ट लागेर स्थानीय ४० वर्षकी इन्द्रमाया मगर घाईते भएको छ । घरबाट मनहरी तर्फ आउने क्रममा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताउनुभयो

त्यसैगरी हेटौंडा ६ चौघडा बजारमा शुक्रबार बिहान अटोले ठक्कर दिँदा गम्भीर घाइते भएका एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय शान्तिटोल बस्ने वर्ष ६८ को जनक राई रहेको प्रहरी नायव उपरीक्षक अर्यालले जानकारी दिनुभयो ।

हेटौंडा बजारबाट चुच्चेखोलातर्फ जाँदै गरेको ना २ ह २६९२ नं.को अटोले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । अटोले ठक्कर दिँदा टाउको र शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि तत्काल उद्दार गरी हेटौंडा अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अटो र अटो चालक सोही ठाउँ बस्ने ३१ वर्षीय शंकर सार्कीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।