
मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ लाई २०८१ माघ २ गते बालमैत्री वडा घोषणा गरिने भएको छ । ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराका साथ वडा नम्बर १२ लाई निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न लागिएको आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
१२ नम्बर वडाको कूल क्षेत्रफल १६.१४ वर्ग किलोमिटर रहेको छ। यस वडाको पूर्वमा वडा नम्बर ९ पश्चिममा मनहरी गाउँपालिका, उत्तरमा राप्ती खोला (वडा नम्बर ३,११ र १९), दक्षिणमा वडा नम्बर १३ रहेको छ। घरधुरी तथ्याङ्क संकलन सर्वेक्षण, २०७९ अनुसार कुल २२३६ घरधुरी रहेको यस वडामा १८ वर्ष मुनिका बालबालिकाको जनसंख्या ३०७८ रहेको छ जसमा १५७८ बालक र १५०० बालिका रहेका छन्। वडामा सामुदायिक र संस्थागत गरि बाल विकास केन्द्र सहितका जम्मा ५ वटा विद्यालयहरु सञ्चालनमा छन्। यसै गरी २२ वटा बालसमूहहरु र १ वडास्तरीय बाल समूह सञ्जाल रहेको छ जसमा ५५० जना बालबालिकाहरु आवद्ध छन् भने विभिन्न संरचनागत समितिहरुमा समेत गरी जम्मा ५८९ जना बालबालिकाहरुको प्रत्यक्ष सहभागिता रहेको छ ।
वडामा बालमैत्री स्थानीय शासन वडा समिति, वडा बाल अधिकार समिति, बालसमूहरु, बालसमूह सञ्जाल, टोल विकास संस्थाहरु, युवा क्लब, आमा समूह, वन समूह लगायतका विभिन्न सामुदायिक संस्थाहरु क्रियाशील छन् । पूर्ण खोप वडा घोषणा, पूर्व साक्षर वडा घोषणा, खुल्ला दिसामुक्त वडा घोषणा भई सकेको यस वडालाई नेपाल सरकारको मापदण्डको आधारमा तयार भएको बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिता गरि बाल अधिकारका चार क्षेत्रको ३६ र संस्थागत विकासको १५ समेत गरि बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सूचकहरुमा अभ्यास गरी ४७ वटा सूचकहरु १०० प्रतिशत र बाकी ४ वटा सूचकमा घोषणाका लागि आवश्यक न्युनतम प्रतिशत नतिजा हासिल गरिएको छ ।
पत्रकार सम्मेलनमा सार्वजनिक भएको विज्ञप्तिमा अगाडि लेखिएको छ–‘आजका बालबालिका भोलिका कर्णाधार हुन् भन्ने भनाईलाई मनन् गर्दै २१ औं शताब्दीका बालबालिकालाई उक्त भनाईमाथि नै परिमार्जित गरि बालबालिकालाई आजैका साझेदार बनाउने विषयलाई मनन् गर्दै सम्पुर्ण स्थानीय तहलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने राष्ट्रिय दिगो विकास लक्ष्य स्थापित गरिएको छ। सोहि अनुरूप कार्यान्वयनमा ल्याईएको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ र कार्यान्वयन कार्यविधी, २०७९ को मार्गदर्शन अनुसार २०७९ भाद्र २४ गतेको हेटौडा उपमहानगरपालिकाको कार्यपालिकाले सम्पुर्ण वडा र पालिकालाई नै बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने निर्णय गरेपश्चात यस बडा नम्बर १२ ले पनि २०७९ मंसिर २० गते सरोकारवालाको उपस्थीतिमा अभिमुखिकरण र प्रतिवद्धता गरि यो महान अभियानलाई सफल पार्न प्रत्येक विद्यालय र टोल समुदायमा सचेतनामुलक कार्यक्रम सशालन गर्दै आईरहेको छ। सूचक प्राधिका लागि सरोकारवाला निकायसंग पटक पटक अन्तरक्रिया र समिक्षा गरि जिल्ला स्तरीय अनुगमन टोलीबाट समेत अनुगमन भईसकेको छ भने बालमैत्री स्थानीय शासन दिगोपनाका लागि वडाको अन्तिम प्रतिवेदन, स्थीतिपत्र २०८१ र पञ्चवर्षिय रणनितिक योजना तयार भएको छ भने आवधिक लगानी योजना कार्यपालिकाबाट समेत स्वीकृत भई कार्यान्वयनको क्रममा रहेको छ।’