मकवानपुर । हेटौंडामा ६ महिने मनोसामाजिक मनोविमर्शकर्ता तालिम सुरु भएको छ ।‘मानसिक स्वास्थ्यको ख्याल गरौँ’ भन्ने नाराका साथ बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा ह्यूम्यान नेपाल धनगढीले बुधबारदेखि मनोसामाजिक मनोविमर्शकर्ता तालिम सुरु गरेको हो ।

तालिममा बागमती प्रदेशका १३ जिल्लाबाट छनौट भएर आएका १५ जना महिलाहरुको सहभागिता रहेको छ । तालिमको उद्घाटन सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले गरेका हुन् । सो क्रममा बोल्दै उनले युवा पुस्तामा मानसिक समस्या धेरै देखिने गरेको बताए ।तालिममा प्रमुख प्रशिक्षक विनोद पौडेल र मोनिका खड्काले सहजीकरण गर्ने बताइएको छ । ६ महिनासम्म चल्ने तालिम ३ वटा मोडलमा सञ्चालन गरिनेछ ।

तालिमका लागि सामाजिक विकास मन्त्रालयले १८ लाख ५० हजार बजेट छुट्याएको छ । गत वर्षपनि प्रदेशका १५ जना महिलाले यो तालिमा लिएका थिए ।