मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने भएको छ । ‘बालबालिकामा लगानी शुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराका साथ माघ ११ गते शुक्रबार हेटौंडा उपमहानगर वडा नम्बर १ लाई बालमैत्री वडा घोषणा गर्न लागेको वडाअध्यक्ष सविन न्यौपानेले बताए ।

वडा अध्यक्ष न्यौपानेले बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सुचकहरुमा अभ्यास गरी ५१ वटा सुचकहरुमध्ये ४७ वटा सुचकहरु १०० प्रतिशत र बाँकी ४ वटामा आवश्यक न्युनतम प्रतिशत नतिजा हासिल भएको बताए । वडामा घरधुरी तथ्यांक संकलन २०७९ अनुसार १८ वर्ष मुनिका बालबालिकाको जनसंख्या २ हजार १४ रहेको छ । जसमा १ हजार ४५ बालक र ९ सय ६९ बालिका रहेका छन् ।

वडामा सामुदायिक,सँस्थागत र बाल विकास केन्द्र सहितका ६ वटा विद्यालयहरु सन्चालनमा रहेका छन् । साथै समुदाय स्तरमा १८ वटा बालसमुहरु , र १ वडा बाल सञ्जाल रहेको छ । जसमा ३ सय ६३ जना बालबालिकाहरु आवद्ध रहेका छन् । यस अभियानमा ८ बालविवाह रोकिएको छ भने विभिन्न बालश्रमिकको उद्वार गरि पारिवारिक मिलन समेत गरिएको छ । वडामा बालअधिकार समिति, बालसमुहहरु, बालसमुह सञ्जाल, टोलविकास सस्थाहरु, युवा क्लब, आमा समूह, वन समुह साथै विभिन्न सामुदायिक सस्थाहरु क्रीयाशिल छन् ।

यसाघि यस वडालाई पुर्ण खोप वडा, पुर्ण साक्षर वडा र खुल्ला दिसामुक्त वडा घोषणा गरिसकिएको छ । २०७९ साल भदौ २४ गते हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका बैठकले सम्पूर्ण वडा र पालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने निर्णय गरिएको थियो । २०७९ साल मंसिर २० गते सरोकारवाला निकायको उपस्थितिमा अभिमुखिकरण र प्रतिवद्धता जाहेर गर्दै अभियान सुरु गरिएको थियो ।