मकवानपुर । हेटौंडा– १ स्थित ज्ञानदा माध्यामिक विद्यालयबाट बागमती प्रदेशमा पाठेघरको मुखको क्यान्सर गराउने ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपिभी) विरुद्धको खोप अभियान सुरु भएको छ ।

विद्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री बहादुर सिंह लामाले स्वास्थ्यकर्मीलाई खोप सामग्री प्रदान गर्दै खोप अभियानको शुभारम्भ गर्नुभएको हो । खोप अभियानको शुभारम्भ गर्नुहुँदै मुख्यमन्त्री लामाले अझै पनि महिलाहरुले समस्या लुकाएर बस्ने गरेको बताउनुभयो । विशेष गरी दुर्गम भेगका महिलाले समाजबाट अपहेलित हुने डरले पीडा लुकाएर बस्ने गरेको उहाँले बताउनुभयो । मुख्यमन्त्री लामाले स्वास्थ्य समस्यालाई लाजको विषय नबनाउन आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा बोल्दै बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले सर्ने भन्दा नसर्ने रोगको स्थिती भयावह बन्दै गएको बताउनुभयो । अभियान अन्तर्गत बागमती प्रदेशका १० वर्षदेखि १४ वर्ष उमेर समूहका २ लाख ९८ हजार तीन सय ५ जना किशोरीलाई खोप प्रदान गरिने मन्त्रालयले जनाएको छ ।

विद्यालय भित्र रहेका २ लाख ७५ हजार ७१ किशोरी र विद्यालय बाहिर रहेका २३ हजार २ सय ३४ जना किशोरीलाई खोप लगाइने छ । बागमती प्रदेशका १३ जिल्लामा सबैभन्दा बढी काठमाडौंमा १ लाख ८ हजार १ सय ४ र सबैभन्दा कम रसुवाका १ हजार ६ सय ८६ किशोरीले खोप लगाउँदैछन् ।
खोप अभियान सुभारम्भ कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछाने, स्वास्थ्य मन्त्री किरण थापा, जिल्ला समन्वय समिति प्रमुख, हेटौंडा उपमहानगरपालिका प्रमुख लगायतको उपस्थिती थियो ।