
मकवानपुर । हेटौंडा–५ स्थित `हाम्रो घर’ बालगृहको दीगोपनका लागि अक्षयकोष स्थापनार्थ श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ हुने भएको छ ।
ग्रामीण जीवनस्तर सुधार मञ्च मकवानपुरको आयोजनामा `हाम्रो घर’ बालगृहका लागि अक्षयकोष स्थापनार्थ फागुन १ गतेदेखि ९ गतेसम्म श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ धार्मिक महोत्सव हुने शुक्रबार पत्रकार सम्मेलन गरी संस्था अध्यक्ष इन्दिरा न्यौपानेले जानकारी दिइन् ।
२०६५ सालमा न्यौपानेले ८ बालबालिका राखेर आफ्नै घरबाट सुरु गरी ५ वर्षपछि बालगृहको आफ्नै भवन बाट सेवा सुरु गरिएको उनले बताइन् । पछिल्लो समय बालगृहमा रहेका बालबालिकालाई आर्थिक मन्दीका कारण समस्या हुने अवस्था आएपछि दीगोपनका लागि सप्ताह ज्ञानमहायज्ञ गर्न लागिएको उनको भनाइ छ ।
महायज्ञ धार्मिक महोत्सव फागुन १ गते विहान ८ बजे गोरक्षेश्वर मन्दिर (राप्तीतट) बाट कलशयात्रापछि उद्घाटन गरिने छ । `हाम्रो घर’ बालगृहमा १० बालिकासहित २७ जनाले आश्रय लिइरहेका छन् ।
पत्रकार सम्मेलनमा सप्ताह कार्यक्रमको संयोजक मेनका श्रेष्ठ, सचीव टीका कुमारी पराजुली,कोषाध्यक्ष गिता गौतम, उपाध्यक्ष देवकुमारी चापागाईं, सदस्य राधा अधिकारीको उपस्थिति थियो।