मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध कारोबारमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। हेटौंडा उपमहानगरपालिका-८, ओमनगर टोलस्थित रनिश थापाको घरमा लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले चैत ५ गते करिब ३ बजेको समयमा ३७ वर्षीय रनिश थापा, वडा नं. १५ बस्ने ३२ वर्षीय धन सिं वाईवा र वडा नं. ०८ बस्ने ३५ वर्षीय सुनिल खड्गीलाई पक्राउ गरेको हो। प्रहरीको अनुसार उनीहरूको कोठामा खानतलासी गर्दा प्लास्टिकका साना पोकामा प्याक गरिएको अवस्थामा २ ग्राम २९० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेको थियो।

प्रहरीले उनीहरूलाई लागूऔषध मुद्दा अन्तर्गत पक्राउ गरी मकवानपुर जिल्ला अदालतबाट तीन दिनको म्याद अनुमति लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।