
मकवानपुर । राजावादी समूहको आन्दोलनका क्रममा पत्रकार सुरेश रजकको हत्या र सञ्चार माध्यममाथि भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासङ्घ मकवानपुरले हेटौंडाको सिमाचोकमा विरोध सभा आयोजना गरेको छ। हिजो तीनकुनेमा भएको आन्दोलनका क्रममा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको ज्यान गएको थियो, र केही सञ्चारगृहमा तोडफोडसमेत गरिएको थियो।
आज पत्रकार महासङ्घको स्थापना दिवस पनि हो, तर महासङ्घले केन्द्रीय निर्देशन अनुसार पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर विरोध प्रदर्शन गरेको हो। हेटौंडाको पल्पसासभागृहबाट सुरु भएको पत्रकारहरूको विरोध प्रदर्शन मकवानपुर उद्योग वाणिज्य संघ, पिपलबोट, बुद्धचोक हुँदै सिमाचोकमा पुगेर सभामा परिणत भएको थियो।
विरोध सभामा पत्रकारमाथिको हिंसात्मक आक्रमणको घोर भत्र्सना, पेशागत सुरक्षाको ग्यारेन्टी, सुरेश रजकको हत्यारालाई कारबाही गर्न र प्रेस स्वतन्त्रताको रक्षा गर्ने माग गरिएको छ। पत्रकार महासङ्घको नेतृत्वमा हिजो ज्यान गुमाएका पत्रकार रजकप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। महासङ्घका अध्यक्ष बालकृष्ण अधिकारीले मृतक रजकलाई न्याय दिलाउन महासङ्घ निरन्तर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे।
विरोध प्रदर्शनमा नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाई, प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारी, प्रेस चौतारी मकवानपुरका अध्यक्ष सरिता दाहाल र गैरसरकारी संस्था महासङ्घका आरती पाठक लगायतका व्यक्तिहरूले पत्रकार हत्याको विरोध गर्दै दोषीलाई कडाबाट कडो कारबाही गर्न माग गरेका छन्।