हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० स्थित बसपार्क क्षेत्रबाट बेबारिसे अवस्थामा दुई जना व्यक्तिहरूको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत फेला परेका दुबै व्यक्तिको उपचारका क्रममा हेटौंडा अस्पतालमा निधन भएको हो।

प्रहरीका अनुसार, पहिलो घटना चैत २७ गते करिब अपराह्न ४ बजेको हो। मागेर जीविका चलाउने करिब ४० वर्षीया अस्मिता तामाङ अचेत अवस्थामा फेला परेकी थिइन्। उनलाई नगर प्रहरीले उद्धार गरी हेटौंडा अस्पताल पुर्‍याएको थियो। उपचारका क्रममा चैत २९ गते बिहान ११:४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

त्यसैगरी, चैत २९ गते बिहान ७:२५ बजे बसपार्क क्षेत्रमै हाल नाम, थर र ठेगाना नखुलेका करिब ६५–७० वर्षका पुरुष अचेत अवस्थामा फेला परेका थिए। अस्पतालमा पुर्‍याइए पनि उनको पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले दुबै घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। साथै, मृतकहरूमध्ये चिन्न सकिने अवस्था नदेखिएका ती पुरुषको आफन्तजन वा चिन्ने व्यक्तिहरूलाई शीघ्र सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।