मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ शिखरपानी चुरियामाईमा रहेको शिखरपानी खानेपानी तथा सरसफाई उपभोक्ता समिति आइतबार हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण भएको छ ।

व्यवस्थापन बोर्डमा हस्तान्तरण भएसंगै सो क्षेत्रमा संचालित ४५० धाराहरुले १० हजार लिटर खानेपानी उपभोग गरेबापत न्युनतम् शुल्क रु.२५० भुक्तानी गर्दे आइरहेकोमा अबदेखि १० हजार लिटरसम्म निःशुल्क खानेपानी उपभोग गर्न पाउने भएका छन् ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले चुनावमा गरिएको वाचा अनुसार हेटौंडा १५ का बासिन्दालाई १० हजार लिटरसम्म खानेपानी उपभोग निशुल्क गर्न पाउँदा खुशी लागेको बताइन् । नगरबासीलाई न्युनतम् विद्युत महसुल छुट दिनका लागि आवश्यक अध्धयन कार्य भईरहेको समेत प्रमुख लामाले जानकारी दिइन् ।

कार्यक्रममा खानेपानीको ट्याङ्की निर्माण गर्न जग्गा उपलब्ध गराउने जग्गा दाताहरुलाई सम्मान गरियो । समितिमा विगत लामो समयदेखि कार्य गर्दे आएका कर्मचारी सेते वाइवालाई उमेर हदका कारण अवकास प्राप्त भएकाले सोही अवसरमा बिदाई तथा सम्मान गरियो ।

शिखरपानी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष पातली गोङ्वाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उप प्रमुख राजेश बाँनिया, हेटौंडा १५ का वडा अध्यक्ष सुनील मोक्तान, हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्ट, खानेपानी व्यवस्थापन बोर्डका कार्यालय प्रमुख विष्णुप्रसाद सापकोटा, पूर्व गाविस अध्यक्ष प्रेम भोम्जन, स्थानीय अगुवा भानु प्रताप बिडारी, पूर्व खानेपानी उपभोक्ता समितिका अध्यक्ष पञ्च बहादुर थिङ लगायतको आतिथ्यता थियो ।

बोर्डमा हाल करिब २५ हजार ५ सय धारा संख्या रहेका छन् । बोर्डले यसअघि वडा नं. १५ का रातोमाटे, सानो सुकौली, ठूलो सुकौली, जाँते, पनेश, र्भोले, चित्रेपानी, गौरीटार लगायतक्षेत्रमा खानेपानीको सेवा दिदै आइरहेको जनाइएको छ ।