
हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले एक निजी सैलुन व्यवसायलाई एसी दिने निर्णयका सन्दर्भमा हाल सामाजिक सञ्जालमा तीव्र बहस चलिरहेको छ। उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले युवालाई स्वरोजगारमा प्रोत्साहन गर्ने उद्देश्यले यस्तो सहयोग गर्ने भनाइ दिएपछि विभिन्न राजनीतिक दलका कार्यकर्ता, विशेषगरी नेकपा एमाले समर्थक तथा एमाले निकट पत्रकारहरुले उनको आलोचना गरेका छन्।
विवादको सुरुवात ‘द नाइन्टिन सैलुन’ नामक एक नयाँ सैलुनको उद्घाटन कार्यक्रममा भएको थियो, जहाँ प्रमुख अतिथि मेयर लामाले, “यहाँ निकै गर्मी छ, एसी जडानका लागि उपमहानगरको तर्फबाट सहयोग गर्छु,” भनेर सार्वजनिक रूपमा वाचा गरेकी थिइन्। यसपछि सैलुन सञ्चालक सुसन घलानले एक थान एसी र एक थान इन्भर्टरको माग गर्दै निवेदन दिएका थिए। सोही निवेदनका आधारमा उपमहानगरले लागत अनुमानको लागि सम्बन्धित निकायलाई तोकादेश दिएको हो।
आलोचना र समर्थन
एउटा निजी व्यवसायलाई यस्तो सहयोग गर्नु उपयुक्त होइन भन्ने धारणा राख्नेहरूको अनुसार, स्थानीय सरकारको स्रोत निजी प्रयोजनमा खर्च गर्नु सुशासनको सिद्धान्त विपरीत हो। उनीहरू सामाजिक सञ्जालमार्फत मेयर लामाको आलोचना गर्दै, करदाताको पैसा यसरी खर्चिनु गलत भएको बताइरहेका छन्।
तर अर्कोतर्फ, समाजमा मेयर लामाको कदमको खुलेर समर्थन गर्नेहरू पनि छन्। उनीहरूले युवालाई स्वरोजगारमा लगाउन प्रोत्साहन दिने सरकारी निर्णयलाई सकारात्मक ठानेका छन्। सामाजिक सञ्जालमा धेरैले, “एउटा युवाले व्यवसाय थालेको छ, त्यसलाई प्रोत्साहन गर्नु सरकारको कर्तव्य हो,” भन्दै समर्थन जनाएका छन्।