
हेटौंडा । मकवानपुरको रातोमाटेमा प्रहरीद्वारा सवारी चेकजाँचको क्रममा ठूलो मात्रामा लागूऔषध ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा बारा जिल्लाका तिर्थलाल पासवान (२५) र सुनिल पटेल (२३) रहेका छन्।
प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका–१५ स्थित पूर्व–पश्चिम लोकमार्गको चेकप्वाइन्टमा चेकजाँच गर्ने क्रममा बारा जिल्लाको सिम्रौनगढबाट हेटौंडातर्फ आउँदै गरेको मधेश प्रदेश ०२-००१ च १४३८ नम्बरको योद्धा पिकअप गाडी जाँच गर्दा गाडीको अगाडिको इञ्जिन कभरभित्र लुकाएर ल्याइएको अवस्थामा ५७,५०० क्याप्सुल ट्रामाडोल हाइड्रोक्लोराइड (TRAMADOL HYDROCHLORIDE CAPSULE I.P 50 mg) बरामद गरिएको हो।
बरामद गरिएको लागूऔषधको बजार मूल्य करिब ४ लाख १४ हजार रुपैयाँ बराबर रहेको मकवानपुर प्रहरीले जनाएको छ। उक्त गाडी र लागूऔषधसहित दुवै व्यक्तिलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको छ।