
हेटौँडा । राजावादी आन्दोलनमा संलग्न रहेको आरोपमा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न पुगेका राप्रपाका सांसद दीपक सिंह पनि पक्राउ परेका छन्।
थापा सहित ७ जनालाई आज दिउँसो नक्सालस्थित नारायणचौरमा आन्दोलनकारीलाई उक्साउने अभिव्यक्तिदिएकाे आरोपमा प्रहरीले पक्राउ गरेको थियो। उनीहरू हाल काठमाडौँ प्रहरी परिसरको हिरासतमा राखिएका छन्।
पक्राउ परेका नेताहरूमा कमल थापा बाहेक शिला राना, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली, सरोज तिमिल्सिना र डा. राजिव झा रहेका छन्। उनीहरूलाई जेठ १५ देखि जारी रहेको गणतन्त्र विरोधी आन्दोलनमा संलग्न रहेको भन्दै पक्राउ गरिएको हो। राजावादीहरूले उक्त आन्दोलनलाई ‘निर्णायक आन्दोलन’को रूपमा प्रस्तुत गरेका छन्।
राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीका अनुसार सांसद दीपक सिंहलाई थापालाई भेट्न परिसर प्रवेश गरेको केही समयमै प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहोराले पनि सिंहलाई नियन्त्रणमा लिएको पुष्टि गरेका छन्।