
हेटौंडा । दोलखा जिल्लाको भीमेश्वर नगरपालिकामा भएको १५ औं संस्करणको बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा आइतबार काठमाडौं महानगरपालिकाको दश्रथ रंगशालामा उसुको तर्फको सम्पूर्ण विधाका खेलहरु सम्पन्न भएको हो । उसुमा मकवानपुरबाट १ जना छात्रातर्फकी खेलाडीले मात्र पदक दिलाउन सफल भएकी मकवानपुरकी टिम प्रशिक्षक विमल थापा मगरले जानकारी दिएका छन् ।
उसुमा मकवानपुरबाट ४८ केजी तौल समूहबाट छात्रातर्फ मनिषा विश्वकर्मा द्वितीय हुँदै रजत पदक दिलाउन सफल भएकी टिम प्रशिक्षक विमल थापा मगरले बताए । प्रतियोगितामा जिल्लास्तरीय प्रतियोगिताबाट छनौट भएका १२ जना खेलाडीहरुको सहभागिता रहेको प्रशिक्षक मगरले बताए । प्रतियोगितामा ६ वटा विधामा प्रतिस्पर्धा गराइएको थियो ।
उनका अनुसार सानसोको फाइट विधामा ४२, ४५ र ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गराइएको थियो भने थाइलोको प्रदर्शनी विधामा प्रतिस्पर्धा गराइएको थियो । यस्तै, नानछ्वाङ, छानछ्वाङ् र ताइची विधामा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा सहभागी हुनु अघि समयतालिका मिलाएर बिहान र बेलुकाको समयमा प्रशिक्षण दिने गरिएको उनले बताए ।
खेलाडीहरुलाई खेल स्थानमा भ्रमण गराउन र खेलको अनुभव गराउनका लागि ३ दिन पहिलानै काठमाडौंको खेल स्थानमा लगेको निर्णायक विश्वनाथ पाठकले बताए । यस वर्षको प्रतियोगिताका लागि बन्द प्रशिक्षण नभएको कारणले पनि केहि प्रभाव पारेको उनले बताए ।
कराँतेतर्फ मकवानपुरको ४ जना खेलाडीले पदक जितेका छन् । दोलखा जिल्लाको भीमेश्वर नगरपालिकामा जारी प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा शनिबार सुरु भएर आइतबार सम्पन्न भएको कराँते प्रतियोगितामा मकवानपुरबाट सहभागी भएका मध्ये ४ जना खेलाडीले पदक दिलाउन सफल भएका हुन् ।
पुरुषतर्फ ४२ केजी तौल समूहबाट करूण गमाल र महिलातर्फ ५० केजीतौल समूहबाट सुजता भ्लोनले समान १÷१ वटा स्वर्ण पदक दिलाएका छन् । यस्तै, महिलातर्फ झरना लोले ४५ केजी तौल समूहबाट र ५५ केजी तौल समूहबाट श्रेया श्रेष्ठले समान १÷१ वटा काँस्यपदक दिलाएको नेपाल कराँते महासंघ मकवानपुरका सचिव दीर्घ लामाले जानकारी दिएका छन् ।
यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी महिलातर्फ सुजता भ्लोन घोषित हुँदै ट्रफी र प्रमाणपत्र प्राप्त गरेकी छन् । फागुन महिनामा मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा सम्पन्न भएको जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताबाट छनौट भएका खेलाडीहरुको प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता रहेको थियो । खेलाडीहरुको प्रतिनिधित्व गरेर टिम प्रशिक्षकको रुपमा भीम घलान र टिम म्यानेजरको रुपमा मान सिंह दोङ गएका थिए ।