
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले ५३ औं विश्व वातावरण दिवस–२०८२ को अवसरमा आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम समापन गरिएको छ। समापन तथा पुरस्कार वितरण समारोहमा नगर प्रमुख मीनाकुमारी लामा सहभागी हुनु भयो।
एक सातासम्म सञ्चालन भएका कार्यक्रमहरूमा सरसफाइ, वृक्षारोपण, जनचेतना मूलक र्याली, तथा टोल स्तरीय वातावरण सम्बन्धी प्रतियोगिताहरू समावेश थिए। ती कार्यक्रमहरूमा उल्लेखनीय सहभागिता जनाएका टोल विकास समितिहरू र नागरिक समाजका सदस्यहरूलाई समापन समारोहमा पुरस्कार प्रदान गरिएको थियो।
समारोहमा नगर प्रमुख लामाले “सुन्दर र हरित हेटौंडा निर्माणमा यहाँका टोल विकास संस्था र नागरिक समाजको भूमिका अत्यन्त महत्वपूर्ण रहेको” बताउँदै आगामी दिनमा पनि यस्ता सचेतनामूलक अभियानमा अझ सक्रिय भूमिका निर्वाह गर्न सबैलाई आग्रह गर्नुभयो।
कार्यक्रमको क्रममा हेटौंडा नगर क्षेत्रका विभिन्न स्थानहरूमा वातावरण संरक्षणसम्बन्धी र्याली समेत आयोजना गरिएको थियो, जसमा सर्वसाधारणको उल्लेखनीय सहभागिता देखिएको थियो।