मकवानपुर । मकवानपुरमा पार्किङ गरी राखिएको अवस्थामा चोरी भएको ट्रक दुई साता पछि फेला परेको छ। ट्रकका मालिक गणेश बरुवालका अनुसार ना ६ ख ८५५ नम्बरको उक्त ट्रक मिति २०८२ जेठ १३ गते अज्ञात स्थानबाट चोरी भएको थियो।

जिल्ला प्रहरी कार्यालयमा प्राप्त जाहेरीका आधारमा गरिएको अनुसन्धानपछि सोही दिन राति हेटौँडा नगरपालिका वडा नं. ३ स्थित बसामाडी क्षेत्रबाट ट्रक फेला पारिएको हो। प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको थियो।

आज मिति २०८२ जेठ २६ गते ट्रकका धनी गणेश बरुवाललाई बोलाई ट्रक सनाखत गराई पुष्टि भएपछि उक्त ट्रक उनैलाई बुझाइएको छ।

यस चोरी प्रकरणमा मकवानपुरगढी गाउँपालिका वडा नं. १ का २७ वर्षीय तिर्थमान भोलनलाई संलग्न देखिएको भन्दै चोरी तथा डाँका सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।