
हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जिल्ला समिति मकवानपुरले सञ्चालन गरेको दोस्रो चरणको जनआन्दोलन अन्तर्गतका कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भएका छन्। आन्दोलनका कार्यक्रमहरू पार्टीको केन्द्रिय निर्देशनअनुसार प्रदेशस्तरीय र जिल्लास्तरीय सहभागिता सहित विभिन्न चरणमा सम्पन्न गरिएको हो।
पार्टीले ‘समाजवादको तयारी’ को मूल नाराका साथ संघर्षमा उत्रिएको जनाएको छ। प्रमुख नेताहरूको सहभागिता रहेको जिल्ला समितिको आयोजनामा विभिन्न चरणमा जनजागरण, ज्ञापनपत्र बुझाउने, सभा–सभा लगायतका गतिविधिहरू गरिएको छ।
प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार, जेठ ५ गते केन्द्रिय, प्रदेश र जिल्ला तहका प्रतिनिधिहरूसँग अन्तरक्रिया गरिएको थियो। त्यसपछि, जेठ ७ गते प्रदेश सरकारलाई वैशाख १९ गते बुझाइएको ज्ञापन पत्र स्मरण गराउँदै पुनः बुझाइएको थियो।
जेठ ७ देखि १० गतेसम्म आन्दोलनका मागहरूसम्बन्धी सामाजिक सञ्जाल र प्रत्यक्ष जनसम्पर्कमार्फत प्रचार–प्रसार गरिएको थियो। जेठ १० मा प्रदेश र जिल्ला समिति नेतृत्व तथा बुद्धिजीवीहरूसँग विचार–विमर्श कार्यक्रम, जेठ ११ गते जिल्लाको आयोजनामा जातिय भेदभाव तथा छुवातछुट उन्मुलन दिवसका अवसरमा विचार गोष्ठी आयोजना गरिएको थियो ।
त्यस्तै जेठ २९ गते पार्टीले राखेका मागहरुका सन्दर्भमा बागमती प्रदेश सरकारलाई दवाब दिन मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा धर्ना दिने कार्यक्रममा प्रहरीले अवरोध गरेको थियो । प्रहरीको अवरोधपछि मुख्यमन्त्रीको कार्यालयमा जाने सडक किनारमा बसेर २ घण्टा धर्ना र कोणसभा आयोजना गरिएको थियो ।
अध्यक्ष विष्णु प्रसाद दाहालद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा आगामी दिनहरूमा अझ सशक्त आन्दोलन गर्ने र जनताको हकहितका सवालमा निरन्तर दबाबमूलक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। हेर्नुहोस् प्रेस विज्ञप्ति–