
हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ का वडा अध्यक्ष तथा उपमहानगर प्रवक्ता सविन न्यौपानेमाथि सोमबार दिउँसो कार्यकक्षमै कालो मोबिल छ्यापेर साङ्घातिक आक्रमण भएको छ। भूमि सम्बन्धी विवादको कारण देखाउँदै वडा कार्यालय प्रवेश गरेका कालो पोशाकमा मोटरसाइकलमा आएका चार जनाको समूहले आक्रमण गरेको हो।
कार्यकक्षमै अध्यक्ष न्यौपानेलाई कार्यालयमा रहेको सामग्री प्रयोग गरेर टाउकोमा प्रहार गर्नुका साथै कालो मोबिल छ्यापिएको थियो। आक्रमणमा उनको टाउकोमा चोट लागेको छ भने उनी प्रयोग गर्दै आएका दुईवटा मोबाइलसमेत लुटिएको छ।
अध्यक्ष न्यौपानेका अनुसार केही समयदेखि हेटौंडा–१ स्थित स्वर्गलोक क्षेत्रमा सार्वजनिक जग्गामा अवैध रूपमा घरटहरा निर्माण गर्न खोज्ने प्रयास भइरहेको थियो। त्यसलाई हटाउने क्रममा वडा र उपमहानगरले संयुक्त रूपमा संरक्षणको पहल थालेपछि असन्तुष्ट समूहले आक्रमण गरेको बताइएको छ।
उक्त घटनापछि उपमहानगरपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विज्ञप्तिमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारसमक्ष प्रचलित कानुनको परिधिमा रही दोषीलाई कारबाही गर्न माग गरिएको छ।
नगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँसहितका पदाधिकारीहरू घटनास्थलमा पुगेका थिए । घटनाबारे उपमहानगरपालिकाले आकस्मिक बैठक बसी पत्रकार सम्मेलन समेत आयोजना गरी विज्ञप्ति जारी गरेको हो । प्रमुख लामाले घटनाको निष्पक्ष अनुसन्धान गर्न मकवानपुरका प्रहरी नायब उपरीक्षक (DSP) श्यामु अर्याललाई आग्रह गरेकी छिन्। आक्रमणकारीलाई तत्काल नियन्त्रणमा लिई कानुनी कारबाहीको दायरामा ल्याउन नगरपालिकाले जोडदार माग गरेको छ।
उपमहानगरपालिकाको कार्यपालिका बैठकले स्थानीय सरकार सञ्चालन ऐन २०७४, मुलुकी देवानी संहिता २०७४ लगायतका प्रचलित कानुनको पालना गर्दै सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने क्रममा यस्तो आक्रमण हुनु गम्भीर आपराधिक गतिविधि भएको ठहर गर्दै दोषीलाई यथाशीघ्र कानुनी दायरामा ल्याउन माग गरेको छ।
हेर्नुहोस् प्रेस विज्ञप्ति–