हेटौँडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले प्रदेश सरकारले आयुर्वेद सेवा र पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिएको बताउनुभएको छ।

हेटौँडा उपमहानगरपालिका वडा नं. २ स्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको नवनिर्मित साढे २ तले भवनको आइतबार उद्घाटन गर्दै मन्त्री थापाले प्रदेशका विभिन्न ठाउँमा आयुर्वेद भवन निर्माण गरी सेवा विस्तार तथा व्यवस्थापनमा जोड दिइएको जानकारी दिनुभयो। उहाँका अनुसार सातै प्रदेशमध्ये सबैभन्दा व्यवस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सेवा बागमती प्रदेशमै रहेको छ।

मन्त्री थापाले चितवन र नुवाकोटमा आयुर्वेदको अन्तरंग सेवा सुरु भइसकेको उल्लेख गर्दै मकवानपुरमा पनि चाँडै अन्तरंग सेवा सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभयो।

उहाँका अनुसार असोज महिनासम्म सरकारले निःशुल्क वितरण गर्दै आएको २३ प्रकारको आयुर्वेदिक औषधिमध्ये प्रदेश सरकारले २१ प्रकारको औषधि वितरण गर्ने गरी काम अगाडि बढाइएको छ।

मन्त्री थापाले प्रदेश राजधानी हेटौँडालाई स्वास्थ्य सेवा क्षेत्रको हब बनाउने सरकारको मुख्य लक्ष्य रहेको बताउनुभयो। उहाँले हेटौँडा अस्पताल विगतमा जिल्ला अस्पतालको रूपमा सीमित रहेको भए पनि अहिले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत ३ सय शैयाको सेवा र विशेषज्ञ चिकित्सकमार्फत उपचार सेवा सुरु भइसकेको बताउनुभयो। निकट भविष्यमै उक्त अस्पताललाई ५ सय शैयामा विस्तार गर्ने योजना रहेको समेत मन्त्री थापाले जानकारी दिनुभयो।

कार्यक्रममा मन्त्री थापाले पछिल्लो समयमा एन्टिबायोटिक औषधिका कारण विभिन्न साइट इफेक्ट देखिन थालेकाले आयुर्वेदिक सेवाको प्रभावकारी प्रवर्द्धन आवश्यक भएको उल्लेख गर्नुभयो।

७ करोड ५३ लाख रुपैयाँ लागतमा युरिका पिण्डेश्वरी जेभीले निर्माण गरेको उक्त भवन १६ शैयाको सेवा सञ्चालनको लागि स्वीकृत भएको छ। हाल उक्त चिकित्सालयबाट फार्मेसी, पूर्वकर्म पञ्चकर्म तथा निःशुल्क फिजियोथेरापी सेवा प्रदान हुँदै आएको छ।