हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा हेटौंडाका विभिन्न स्थानबाट ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाँच जना युवक र एक महिला छन्। प्रहरीले विशेष सूचनाका आधारमा छापा मार्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार, साउन २ गते हेटौंडा उपमहानगरपालिका–२, पुरानो मनकामना पथस्थित एक डेराबाट २१ वर्षीय युवक पक्राउ परेका छन्। बिहान ११:३० बजे प्रहरी टोलीले खानतलासी गर्दा उनको शरीर तथा डेराबाट १११ ट्याब्लेट नाईट्राभेट र ५३१ क्याप्सुल ट्रामाडोल फेला पारेको थियो। उनलाई जिल्ला अदालत मकवानपुरबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।
त्यस्तै, साउन १ गते हेटौंडा उपमहानगरपालिका–१२ स्थित झोलुङ्गे पुल नजिक चोरी र लागूऔषधको आशंकामा दुई जना युवक पक्राउ परेका छन्। बिहान ११ बजे पदमपोखरी प्रहरी चौकीबाट खटिएको टोलीले २२ र २६ वर्षीय ती युवालाई शंकास्पद रूपमा फेला पारी जाँच गर्दा २२ ट्याब्लेट नाईट्राभेट र चोरी गरिएको ९ बट्टा पाइलट चुरोट बरामद गरेको थियो। उनीहरूमाथि पनि लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ।
यसैगरी, साउन १ गते साँझ करिब ४:४५ बजे हेटौंडा–२ सानोपोखरास्थित एक चिया पसलमा छापा मार्दा प्रहरीले १८८ क्याप्सुल ट्रामाडोल र ५० ग्राम गाँजा बरामद गरेको छ। घटनास्थलबाट भिमफेदी गाउँपालिका घर भई हाल चिया पसल सञ्चालन गर्दै आएकी ४२ वर्षीया महिला, १९ वर्षीय युवक र भारत मोतिहारीका २३ वर्षीय युवक पक्राउ परेका छन्। उनीहरूमाथि पनि ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।












