हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध कारोबारविरुद्ध साउन २ र ३ गते विशेष अभियान सञ्चालन गरी ६ ग्राम ४०० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित ७ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका प्रहरी कार्यालयहरूको संयुक्त टोलीले हेटौंडा र वरपरका क्षेत्रमा छापा मारी अभियुक्तहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा हेटौंडा उपमहानगरपालिका–१ र ५ का २०–२० वर्षीय दुई युवक, भीमफेदी गाउँपालिका–२ कालिकाटारकी १९ वर्षीया युवती र मकवानपुरगढी गाउँपालिका–२ बाँसपानीकी १९ वर्षीया युवती छन्। उनीहरूबाट २ ग्राम २१० मिलिग्राम लागूऔषध बरामद भएको प्रहरीको भनाइ छ।
त्यस्तै, हेटौंडा–१५ स्थित रातोमाटे चेकपोइन्टमा चेकजाँचको क्रममा ना ३७ प ६४४९ नम्बरको मोटरसाइकलसहित पर्साको पोखरिया नगरपालिका–१ बनकटवा घर भई हाल हेटौंडा बसोबास गर्दै आएका २७ वर्षीय युवक पक्राउ परेका छन्। उनको साथबाट २ ग्राम ९१० मिलिग्राम खैरो हेरोइन बरामद भएको छ।
यसैबीच, सप्तरी जिल्लाका सम्भुनाथ नगरपालिका–६ र राजगढ गाउँपालिका–२ का ३६–३६ वर्षीय दुई पुरुषलाई हेटौंडा–९ र १० बाट पक्राउ गरिएको छ। उनीहरूबाट क्रमशः १ ग्राम २८० मिलिग्राम लागूऔषध बरामद भएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेकामाथि मकवानपुर जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।












