हेटौँडा । बागमती प्रदेशमा नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष चुलिँदै गएको छ। मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका दुई सांसदले आफ्नो नाम फिर्ता लिएसँगै प्रदेशको राजनीति थप पेचिलो बनेको छ।
सांसद माया श्रेष्ठ र मीना पराजुलीले मंगलबार एक विज्ञप्ति जारी गर्दै आफूहरूलाई जानकारी नदिई अविश्वास प्रस्तावमा हस्ताक्षर गराइएको आरोप लगाएका छन्। उनीहरूले अब मुख्यमन्त्री लामालाई समर्थन रहेको स्पष्ट पारेका छन्। विज्ञप्तिमा उल्लेख गरिएको छ, “हामीलाई जानकारी नै नगराई हस्ताक्षर गराइएकोमा असहमति जनाउँदै अविश्वासको प्रस्ताव फिर्ता लिई संसदीय दलका नेता लामालाई समर्थन रहेको व्यहोरा अवगत गराउँछौँ।”
यसैबीच, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्काले पनि मंगलबार मुख्यमन्त्री लामासमक्ष राजीनामा दिएका छन्। अविश्वास प्रस्तावमा हस्ताक्षर नगरेका खड्काले सांसद इन्द्रबहादुर बानियाँलाई समर्थन गर्ने निर्णयसहित मन्त्री पदबाट बाहिरिएका हुन्। उनले यसअघि २०७९ पुस १३ मा भएको दलको नेताको निर्वाचनमा भने लामालाई समर्थन गरेका थिए।
खड्कासँगै कांग्रेसका पाँच जना मन्त्रीले हालसम्म राजीनामा दिइसकेका छन्। यसअघि सहकारी मन्त्री मदुकुमार श्रेष्ठ, पर्यटन मन्त्री विमल ठकुरी, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले पनि अविश्वास प्रस्ताव अघि आएपछि पदबाट राजीनामा दिएका थिए।
कांग्रेसको बागमती प्रदेश संसदीय दलमा उत्पन्न विवाद चुलिँदै जाँदा मंगलबार बिहान १० बजेका लागि बोलाइएको बैठक पनि सुरु हुन सकेन। सांसदहरू संसदीय दलको कार्यालयमा भेला भए पनि नेताहरू आ–आफ्नो पक्षमा बहुमत जुटाउन दौडधूपमा लागिरहेका छन्।
यस घटनाक्रमसँगै बागमती प्रदेशमा कांग्रेसभित्रको शक्ति संघर्ष निर्णायक मोडमा पुगेको देखिन्छ। अविश्वास प्रस्तावको भविष्य र कांग्रेस संसदीय दलको नेतृत्व कसले लिने भन्ने विषयमा चाँडै टुंगो लाग्ने सम्भावना छ।












