हेटौँडा । बागमती प्रदेश कांग्रेस संसदीय दलको नेताका लागि फेरि एकपटक बहादुर सिंह लामा र इन्द्र बानियाँबीच प्रतिस्पर्धा हुने भएको छ। बुधबार हुने निर्वाचनका लागि दुबैले उम्मेदवारी दर्ता गराएका छन्।
लामाको प्रस्तावकमा तीर्थ लामा र रामकृष्ण चित्रकार रहेका छन् भने समर्थकमा कुन्दनराज काफ्ले र रामकुमार पहाडी छन्। उता, इन्द्र बानियाँको उम्मेदवारी यांकिला शेर्पाको प्रस्तावमा र कृष्णकुमार तामाङको समर्थनमा दर्ता गरिएको छ।
निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठका अनुसार उम्मेदवारी दर्ता कार्यक्रम बुधबार बिहान ११ बजे सम्पन्न भएको हो। प्रारम्भिक नामावली ११:३० बजे सार्वजनिक हुने छ भने उम्मेदवारी फिर्ता लिन दिउँसो १२ बजेसम्म समय दिइएको छ। अन्तिम नामावली दिउँसो १ बजे प्रकाशित हुनेछ। मतदान भने दिउँसो २ देखि ३ बजेसम्म कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालय, हेटौँडामा हुनेछ।
मतदानका लागि प्रदेशसभा सचिवालयबाट जारी गरिएको परिचयपत्र अनिवार्य गरिएको छ। मतदानपछि तत्काल मतगणना गरिने र सोही दिन नतिजा सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ। समितिमा संयोजक श्रेष्ठसँगै ऋषिराम घिमिरे र जीवन ढुङ्गेल सदस्य छन्।
मुख्यमन्त्री रहेका लामा हालै मात्रै विश्वासको मत गुमाएका थिए। गत शुक्रबार भएको अविश्वास प्रस्तावमा २२ मत विपक्षमा परेको थियो भने लामाले १५ मत मात्रै पाएका थिए।
२०७९ सालको संसदीय दलको निर्वाचनमा पनि लामा र बानियाँबीच प्रतिस्पर्धा भएको थियो, जसमा लामा विजयी भएका थिए। अब पुनः उनीहरूबीचको प्रतिस्पर्धाबाट दलको नेतृत्व कसले सम्हाल्ने भन्ने चासो बढेको छ।












