हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्। बुधबार प्रदेशसभा सचिवालय परिसरमा सम्पन्न निर्वाचनमा बानियाँले बहालवाला मुख्यमन्त्री बहादुर सिंह लामालाई पराजित गर्दै नयाँ नेता चयन भएका हुन्।

निर्वाचनमा कांग्रेसका ३७ जना सांसद सहभागी भएका थिए। बानियाँले २२ मत प्राप्त गर्दै विजयी भएका हुन् भने लामाले १४ मत मात्र प्राप्त गरे। एक मत बदर भएको थियो।

दलको नेताको हैसियत गुमाएका लामाको स्थानमा नयाँ नेतृत्व चयन गर्न निर्वाचन गरिएको थियो। यसअघि बानियाँको नेतृत्वमा कांग्रेसका २१ जना सांसदले लामाको नेतृत्वमा रहेको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। उक्त प्रस्तावमा पाँच मन्त्रीले राजीनामा दिँदै बानियाँलाई समर्थन जनाएका थिए। प्रस्ताव २२ मतको बहुमतले पारित भएको थियो।

बानियाँ र लामाबीच यो दोस्रो पटक संसदीय दलको नेताका लागि प्रतिस्पर्धा भएको हो। २०७९ पुस १३ गते भएको अघिल्लो निर्वाचनमा लामा विजयी भएका थिए। त्यतिबेला उनले २१ मत प्राप्त गरेका थिए भने बानियाँले १६ मत ल्याएका थिए।

नयाँ नेतृत्व चयनसँगै कांग्रेस बागमती प्रदेशमा नयाँ राजनीतिक समीकरणको आकलन सुरु भएको छ।