हेटौंडा । बागमती प्रदेश सरकार अन्तर्गतको कृषि विकास निर्देशनालय र हेटौँडा उपमहानगरपालिकाको संयुक्त लगानीमा निर्माण गरिएको देशकै नमुना प्रादेशिक कृषि थोक बजारको आज एक भव्य समारोहबीच औपचारिक उद्घाटन गरिएको छ।
हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र निर्माण गरिएको यस आधुनिक कृषि बजार भवनको उद्घाटन प्रदेश सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री प्रकाश श्रेष्ठ र हेटौँडा नगर प्रमुख मीनाकुमारी लामाले संयुक्तरूपमा गरे। सो अवसरमा बजार संरचना उपमहानगरलाई औपचारिक रूपमा हस्तान्तरणसमेत गरियो।
करीब ३८ करोड ८८ लाख ६७ हजार रुपैयाँको लागत अनुमानसहितको पाँच तल्ले योजनाअनुसारको भवन निर्माण कार्य अन्तर्गत हालसम्म ३२ करोड १० लाख ५० हजार रुपैयाँको लगानीमा बेसमेन्टसहित तीनतल्ले संरचना निर्माण सम्पन्न भएको छ। भवनको बेसमेन्टमा सवारी पार्किङको सुविधा छ भने भुइँतल्लामा २० वटा सटर, चार वटा कार्गो लिफ्ट र दुईवटा यात्रु लिफ्ट स्थापना गरिएको छ। पहिलो तल्लामा थप २० वटा सटर रहेका छन्।
रिटेल सपिङका लागि निर्माण गरिएको छुट्टै भवनमा पनि भुइँतल्लामा ११ वटा सटर, दुईवटा कार्गो लिफ्ट तथा पहिलो तल्लामा १२ वटा सटरसहित किसानहरूका लागि २३२ वर्गमिटर क्षेत्रफलमा टहरा व्यवस्था गरिएको छ। साथै, ४३७.२ वर्गमिटर क्षेत्रफलमा फैलिएको कोल्ड स्टोरेजको पनि निर्माण गरिएको छ, जसको भण्डारण क्षमता ५०० मेट्रिक टन रहेको छ।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, वडाध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत भरत गौतम, महाशाखा प्रमुखहरू, कृषि क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधिहरू, व्यापारी, कृषक तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
आधुनिक प्रविधियुक्त यो कृषि थोक बजारले प्रदेशभरिका किसानहरूलाई उचित मूल्यमा आफ्ना उत्पादन बिक्री गर्ने सहज वातावरण प्रदान गर्ने विश्वास गरिएको छ। साथै, दीर्घकालीन भण्डारण तथा बजारीकरणमा कोल्ड स्टोरेजले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।












