हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वर्तमान संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रभित्र रहेर चुनाव जितेका राजनीतिक दलहरूले नै अहिलेको व्यवस्थालाई प्रश्न गर्न थालेको भन्दै गम्भीर आरोप लगाएका छन्।

नेपाली कांग्रेस मकवानपुरद्वारा आयोजित बधाई, स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले राप्रपा र रास्वपाजस्ता दलहरू संघीयता र गणतन्त्रको विपक्षमा उत्रिएको टिप्पणी गरे। उनले भने, “संघर्ष र बलिदानबाट प्राप्त यो व्यवस्थाभित्र रहेर तलब भत्ता खाने अनि व्यवस्थालाई बदनाम गराउने? यस्तो दोहोरो चरित्रप्रति जनता सजग हुनुपर्छ।”

मुख्यमन्त्री बानियाँले यस्ता दलहरूले यदि वर्तमान व्यवस्था नमान्ने हो भने तलब भत्ता लिन नै छाड्नुपर्ने चुनौतीसमेत दिए।

कार्यक्रममा उनले आफ्नो प्रमुख उद्देश्य जनताको सेवा रहेको उल्लेख गर्दै विश्वास टुट्न नदिने गरी काम गर्ने प्रतिवद्धता जनाए। “म केवल पदका लागि होइन, सेवा भावका साथ आएको हुँ,” उनले भने। साथै उनले बागमती प्रदेशबासी र कांग्रेस कार्यकर्ताको शिर कहिल्यै नझुक्ने गरी काम गर्ने अठोट पनि व्यक्त गरे।

कार्यक्रम कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको सभाध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा बिनाविभागीय मन्त्री शिवराज अधिकारी, खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री कृष्ण कुमार तामाङलगायत नेताहरूको उपस्थिति रहेको थियो।