
हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले मंगलबार प्रदेशसभा बैठकमा संसद्बाट विश्वासको मत प्राप्त गरेका छन्। मुख्यमन्त्री बानियाँले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमा कुल ११० सदस्यीय प्रदेशसभाबाट ६३ सांसदहरूले समर्थन जनाएका छन्।
सरकार टिकाउन आवश्यक ५६ मतभन्दा बढी पाएपछि मुख्यमन्त्री बानियाँको सरकार स्थिर भएको छ। विश्वासको मत प्राप्त हुँदा कांग्रेसका ३६ र एमालेका २७ सांसदले उनको पक्षमा मतदान गरेका थिए। तर सत्ता गठबन्धनकै एक कांग्रेस सांसद अनुपस्थित रहेको थियो भने कांग्रेसका सदस्य रामकृष्ण चित्रकार देश बाहिर रहेको कारण संसद् बैठकमा सहभागी हुन सकेनन्।
प्रदेशसभामा कुल ९२ सदस्य उपस्थित थिए। त्यसमध्ये २२ सांसदले मुख्यमन्त्री बानियाँको विपक्षमा मत दिएका छन् भने ७ सांसद तटस्थ थिए। १८ सांसद अनुपस्थित रहेका थिए भने सभामुखले मत विभाजनमा भाग लिएका थिएनन्।
गत साउन २० गते एमाले र कांग्रेसको गठबन्धनबाट मुख्यमन्त्री नियुक्त भएका बानियाँले नेपालको संविधानको धारा १६८ उपधारा ४ र प्रदेशसभा नियमावली २०७४ को नियम १४३ उपनियम ४ बमोजिम यो विश्वासको मत प्राप्त गरेका हुन्।