हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जनताको विश्वास र मतको सम्मान गर्दै जनमुखी काममार्फत प्रदेशको समग्र विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

बुधबार मकवानपुर–२ (ख) निर्वाचन क्षेत्रको मनहरी गाउँपालिकामा आयोजित स्वागत तथा तीज विशेष सांस्कृतिक कार्यक्रममा सहभागी हुँदै उनले गरिबमुखी, आयमुखी र न्यायमुखी कार्यक्रमलाई प्राथमिकता दिने अठोट व्यक्त गरे ।

मुख्यमन्त्री बानियाँले निर्वाचन क्षेत्रमा निष्पक्ष ढंगले विकासका काम अघि बढाउने आश्वासन दिँदै भने, “मलाई मुख्यमन्त्री बनाउन मनहरीका जनताको ठूलो योगदान छ । अब यो वा त्यो पार्टी नभनी जनताको आवश्यकता हेरी विकास गर्नु मेरो कर्तव्य हो ।”

उनले विशेष गरी लामिटार–चकरी–मकरी सडकलाई कालोपत्रे गर्ने योजनालाई प्राथमिकतामा राख्ने बताएका छन् । साथै, पुल, सडक तथा अन्य पूर्वाधार विकासमा समेत ध्यान दिने प्रतिबद्धता दोहोर्याए । महिलाको पर्व हरितालिका तीज सभ्य र सुसंस्कृत ढंगले मनाउन उनले आग्रह गरे ।

कार्यक्रम गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ, खानेपानी, उर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङलगायतको उपस्थिति थियो । गाउँपालिकाले मुख्यमन्त्रीमा नियुक्त बानियाँलाई बधाई तथा सम्मानपत्रसमेत प्रदान गर्यो ।

त्यस अवसरमा गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, नेपाली काँग्रेस नेतृ कमला मैनालीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

मुख्यमन्त्री बानियाँले सोही दिन मनहरीस्थित सम्पर्क कार्यालयमा पुगेर आम नागरिकका समस्या र गुनासा पनि सुनेका थिए ।