मकवानपुर — उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ फागुन १४ गते हेटौंडामा आयोजना हुने आमसभामा सहभागी हुने भएका छन्। पार्टीको चुनावी अभियानअन्तर्गत उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो।

आयोजकका अनुसार आमसभा हेटौंडाको मुख्य स्थान हुप्राचौरमा सञ्चालन गरिनेछ। सभामा अध्यक्ष घिसिङले समसामयिक राजनीतिक अवस्था, विकास निर्माण, सुशासन तथा जनजीविकासँग सम्बन्धित विषयमा आफ्नो धारणा राख्ने कार्यक्रम रहेको बताइएको छ।

कार्यक्रममा पार्टीका प्रदेश तथा जिल्ला तहका नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ। निर्वाचन नजिकिँदै जाँदा विभिन्न राजनीतिक दलहरूले आफ्नो गतिविधि तीव्र बनाइरहेका बेला घिसिङको हेटौंडा आगमनलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ।

पार्टीले आमसभालाई सफल बनाउन तयारी तीव्र पारेको जनाएको छ।