हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले पर्यटन वर्ष २०८३ लाई सफल बनाउने मुख्य उद्देश्यसहित ‘शून्य फोहोर (जिरो वेस्ट)’ महाअभियान घोषणा गरेको छ। ‘जाऔँ हेटौंडा, रमाऔँ हेटौंडा’ नारालाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न नगरव्यापी सरसफाइ अभियान सुरु गरिएको हो।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा १९ औँ नगरसभाबाट पारित पर्यटन प्रवर्द्धन योजनाअन्तर्गत टोल विकास संस्था नगर समन्वय समितिको सहकार्यमा यो महाअभियान अघि बढाइएको जानकारी दिइएको छ। उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नम्बर १ का अध्यक्ष सविन न्यौपानेले सरसफाइलाई हेटौँडाको विकासको आधारका रूपमा लिँदै अभियानलाई सरकारी कार्यालय, विद्यालय, सार्वजनिक स्थल र समुदायस्तरसम्मै प्रभावकारी रूपमा विस्तार गरिने स्पष्ट पार्नुभयो।
अभियानअन्तर्गत घर, विद्यालय र कार्यालयबाट निस्कने फोहोरलाई स्रोतमै कुहिने र नकुहिने गरी छुट्याउने व्यवस्थालाई कडाइका साथ लागू गरिनेछ भने नगरभित्र ४० माइक्रोनभन्दा पातला प्लास्टिकका झोलाहरूको प्रयोगमा पूर्ण रूपमा प्रतिबन्ध लगाइनेछ। त्यस्तै, व्यवसायीहरूले आफ्ना पसल तथा व्यवसायस्थल अगाडि अनिवार्य रूपमा डस्टबिन राख्नुपर्नेछ भने सार्वजनिक यातायातका साधनहरूमा समेत डस्टबिन राख्ने नीति लिइनेछ। विद्यालय तहबाटै सरसफाइ संस्कृतिको विकास गर्न ‘मेरो फोहोर, मेरो दायित्व’ कार्यक्रम सञ्चालन गरिने र सरसफाइ अभियानलाई प्रेरणादायी बनाउन उत्कृष्ट टोल र वडालाई सम्मानितसमेत गरिनेछ।
पत्रकार सम्मेलनमा नगर प्रमुख मीनाकुमारी लामाले सरसफाइ कुनै एकदिने कार्यक्रम नभई नागरिकको दैनिकीसँग जोडिएको संस्कार भएकाले यो महाअभियान वर्षभरि नै सञ्चालन हुने बताउनुभयो। उहाँले ढल व्यवस्थापन आयोजना, प्रशोधन प्रणाली तथा वडा नम्बर १५ र वडा नम्बर ६ र ७ को सीमाक्षेत्रमा निर्माण हुने ल्यान्डफिल्ड साइटको डिपिआर (डिटेल प्रोजेक्ट रिपोर्ट) तयार भइसकेको जानकारी दिँदै कानुनी प्रक्रिया पूरा गरी छिट्टै कार्यान्वयनमा लगिने बताउनुभयो।
यस महाअभियानका लागि उपमहानगरपालिकाले ३२ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ। पत्रकार सम्मेलनमा नगरप्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत टेकप्रसाद ओली, वडा नम्बर १० का अध्यक्ष फुर्वा दोर्जे लामा, टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव अधिकारीलगायतको उपस्थिति रहेको थियो।











