हेटौँडा । भारतको पश्चिम बंगाल राज्यस्थित कालिम्पोङ जिल्लाको मुनसोङमा जारी ८०औँ इन्डिपेन्डेन्स डे फुटबल प्रतियोगितामा हेटौँडा फुटबल एकेडेमी सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार सम्पन्न क्वार्टरफाइनल चरणको खेलमा फारम ब्वाइजलाई ८–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै हेटौँडाले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो। जारी प्रतियोगितामा हेटौँडा फुटबल एकेडेमीले लगातार तीनवटै खेलमा फराकिलो गोलान्तरको जित निकाल्दै उत्कृष्ट प्रदर्शन गरिरहेको छ।

आइतबारको खेलमा हेटौँडाको फराकिलो जितका लागि कृष्ण आले मगरले उत्कृष्ट ह्याट्रिक पूरा गरे। उनले तीन गोल गर्दै टोलीको जितमा महत्वपूर्ण भूमिका खेले भने कुमार लामा र पवन तामाङले समान दुई–दुई गोल गरे। यसैगरी, दिवस श्रेष्ठले थप एक गोल गर्दै टोलीको जित सुनिश्चित गरे। विपक्षी टोली फारम ब्वाइजले आक्रामक र रक्षात्मक दुवै शैलीमा राम्रो प्रदर्शन गर्न नसक्दा हेटौँडाका खेलाडीहरूले सुरुदेखј नै दबाब कायम राखेका थिए। उत्कृष्ट ह्याट्रिक गरेका हेटौँडाका कृष्ण आले मगर खेलको ‘म्यान अफ द म्याच’ घोषित हुँदै गोल्डेन बुट प्राप्त गर्न सफल भए।

यसअघि राउण्ड अफ ३२ को आफ्नो पहिलो खेलमा घरेलु टोली सिक्किमको माम्रिङ ब्वाइजलाई ८–१ गोलले हराउँदै विजयी सुरुआत गरेको हेटौँडाले, आफ्नो दोस्रो खेलमा हाइल्याण्डर वारियरलाई १३–२ को विशाल गोलान्तरले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको थियो। हेटौँडा फुटबल एकेडेमीले अब आगामी अगस्ट ११ मा आफ्नो पहिलो सेमिफाइनल खेल खेल्नेछ भने सोही दिन पाक्याङ जिल्लामा हुने अर्को इन्डिपेन्डेन्स डे फुटबल प्रतियोगितामा समेत आफ्नो पहिलो खेल खेल्ने तालिका रहेको छ।

विगत तीन वर्षदेखि भारतको सिक्किम तथा पश्चिम बंगालको कालिम्पोङस्थित मुनसोङमा आयोजित यस प्रतियोगितामा हेटौँडाले नियमित सहभागिता जनाउँदै आएको छ। यसअघिका तीन वर्षको अवधिमा पहिलो संस्करणमा उपविजेता बनेको हेटौँडाले त्यसपछिका दुवै वर्ष लगातार उपाधि उचाल्न सफल भएको थियो।

मुनसोङ स्पोटर्स एसोसिएसन क्लबको आयोजनामा सञ्चालित यस प्रतियोगितामा ३२ वटा टिमहरूको सहभागिता रहेको छ। यस वर्ष क्लबले पुरस्कार राशिको रकममा वृद्धि गरेको छ, जसअनुसार प्रतियोगिताको विजेता टोलीले एक लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताका विभिन्न विधागत उत्कृष्ट खेलाडीहरूका लागि पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ।