दैलेख, १० कात्तिक । दैलेखको सदरमुकाममा मंगलवार राति दशैँ मनाउन जम्मा भएका युवाहरुबीच कुटपिट हुँदा घाइते भएका एक युवकको ज्यान गएको छ । दैलेखकको सदरमुकाम नारायण नगरपालिका वडा नम्बर ७ किमुगाउँका २५ वर्षी रोहन शाहीको उपचारको क्रममा शुक्रवार ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा शुक्रवार उनको ज्यान गएको हो । दशैँको दिन दैलेखको जिल्ला सदरमुकाम नारायण नगरपालिका–७ जार्जेखोला कालिमाटी भन्ने ठाउँमा राति ९ बजेको समयमा युवाहरुबिच कुटाकुट भएको थियो । घटनामा घाइते भएका किमुगाउँका रोहन र रोहनका भतिजा २६ वर्षीय धीरेन्द्र शाहीलाई मंगलवार राति प्राथमिक उपचारपछि थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्याइएकोमा रोहनको ज्यान गएको हो ।

कुटपिटमा संलग्न नारायण नगरपालिका–७ का ८ जना विरुद्ध पीडित पक्षले किटानी उजुरी गरेकोमा २८ वर्षीय हिक्मत बुढा, ४५ वर्षीय पूर्णबहादुर बुढा, २३ वर्षीय बिमल बुढा र ४४ वर्षीया खगिसरा बुढालाई प्रहरीले पक्राउ गरी घटनाको अनुसन्धान थालेको छ । घटनामा संलग्न ४ जना आरोपितहरु भने फरार रहेको प्रहरीले जनाएको छ ।