मकवानपुर, १२ कात्तिक । मकवानपुरको बागमती गाउँपालिकामा मोटरसाईकल दुर्घटनामा परि उपचाररत रहेका एक युवकको मृत्यू भएको छ । बागमती गाउँपालिका वडा नम्बर ६ ठाडीखोलाका २२ वर्षीय सन्तोष दर्लामीको उपचारका क्रममा गए राति मृत्यू भएको हो ।

दर्लामीको उपचारका क्रममा काठमाण्डौंको न्युरो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दर्लामी सवार मोटरसाईकल पछाडी बसेका ठाडीखोला निवासी २२ वर्षिय प्रदिप लोप्चन सामान्य घाइते भएका थिए । उनी स्थानीय मेडिकलमा उपचारपश्चात घर फर्किएका छन् ।

दर्लामीको मोटरसाईकल मकवानपुरको बागमति गाउँपालिका वडा नम्बर–७ लामिटारमा पोलमा ठोक्किएर उनी घाईते भएका थिए । मदन भण्डारी लोकमार्ग अन्तर्गत झुरझुरे तर्फबाट हेटौडातर्फ आउँदै गरेको ना ३० प ३४८१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिजुलिको पोलमा ठोकिएर दुर्घटनामा परेको थियो ।