बारा, १४ कात्तिक । बाराको कलैयास्थित एक बोर्डिङ स्कूलका प्रिन्सिपलको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । कलैयास्थित बाल एकता इङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश स्वर्णकारको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक पूर्व शिक्षिकाक सहित ६ जनालाई पक्राउ गरेको हो ।

बारा प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा ३ जना नेपाली र ३ जना भारतीय नागरिक रहेका छन् । पक्राउ पर्नेहरुमध्ये एक जना उनकै विद्यालयमा काम गर्ने पूर्वशिक्षिकासमेत रहेको बताइएको छ । पक्राउ परेकाहरुको नाम भने प्रहरीले खुलाएको छैन ।

सोमबार दिउँसो दुई वटा मोटरसाइकल चढेर आएका चारजनाको समूहले स्वर्णकारमाथि गोली प्रहार गरेर भागेका थिए । टाउको र छातीमा गोली लागेर गम्भीर घाइते भएका स्वर्णकारको उपचारका क्रममा वीरगन्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको थियो ।