मकवानपुर, १४ कात्तिक । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले सोमबारदेखि उपमहानगर क्षेत्रमा व्यवसाय दर्ता शिविर सुरु गरेको छ । करको दायरा बाहिर रहेर व्यवसाय गरिरहेका हेटौँडा उपमहानगरपालिका क्षेत्रका व्यवसायीका लागि व्यवसाय दर्ता शिविर सञ्चालन गरिएको हो ।
हेटौँंडा बजार क्षेत्रभन्दा बाहिर वडाहरुमा रहेर बिना दर्ता व्यसाय गरिहेका व्यवसायीहरुका लागि वडाहरुमा व्यवसाय दर्ता शिविर सञ्चालन गरिएको हो । हेटौँडा उपमहानगरपालिका–१९ बाट सुरु भएको शिबिर सबै वडामा सञ्चालन गर्ने तयारी रहेको उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाले बताउनुभयो ।
व्यवसाय दर्ता शिविरको हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले सुरुवात गर्नुभएको हो । १९ नम्बर वडा कार्यालयमा आयोजित शिविरको उद्घाटनमा नगर प्रमुख लामाले दर्ता बिनै व्यवसाय गरिरहेका ६ जना व्यवसायीलाई दर्ता प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।
संयोजक सबिन न्यौपानेका अनुसार आन्तरिक राजश्व र घरेलु कार्यालयमा दर्ता भएर व्यवसाय सञ्चालन गरेपछि उपमहानगरमा सुचिकृत नभएका व्यवसायीलाई दर्ताको लागि पछिल्लो तिन वर्षको शुल्क तिरेपछि व्यवसाय दर्ताको सुबिधा उपमहानगरले दिएको छ ।












