मकवानपुर, १४ कात्तिक । हेटौँडा लेडी जेसिजले ‘जेसिज सप्ताह २०२३’ का लागि सप्ताहव्यापी कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार हेटौँडामा पत्रकार सम्मेलन गर्दै जेसिज सप्ताह २०२३ का लागि विभिन्न कार्यक्रमहरु सार्वजनिक गरिएको हो ।

जेसिजले कार्तिक १५ देखि १८ गतेसम्म विभिन्न सार्वजनिक कार्यक्रम तथा प्रतियोगिताहरु आयोजना गर्नेछ । जेसिजका अनुसार यही जेसीज कात्तिक १५ गते पहिलो दिन बिहान ७ बजे हेटौंडा १ स्थित ब्लड बैँकमा रक्तदान कार्यक्रम र दिउँसो १ बजे हेटौंडा क्याम्पसमा ‘स्वर्गीय बुद्धरत्न शाक्य स्मृति खुल्ला वक्तृत्वकला प्रतियोगिता’ को आयोजना गर्नेछ ।

त्यस्तै कार्तिक १६ गते बिहान ७ बजे हेटौंडा १ स्थित ओम बृद्धाश्रममा खाद्यान्न वितरण, दिउँसो १ बजे ‘भुङ्ग्रो थकाली होटल’ मा बैठक सञ्चालन प्रणाली तालिम हुनेछ । कार्तिक १७ गते बिहान ७ बजे शितल महल चोकमा ‘स्लो स्कुटी प्रतियोगिता’ र दिउँसो १ बजे श्री प्रावि चकरीमा ‘स्वर्गीय बाशु प्रसाद पौडेल स्मृति शैक्षिक सामग्री हस्तान्तरण’ कार्यक्रम सह–मुल कार्यक्रम संंयोजक नम्रता श्रेष्ठले जानकारी दिईन् ।

त्यस्तै कार्तिक १८ गते बिहान ७ बजे हेटौंडा ५ स्थित हाम्रो घर नामक परोपकारी संस्थालाई सरसफाई सामग्री हस्तान्तरण र सोही दिन दिउँसो २ बजे रोयल पार्टी प्यालेशमा समापन कार्यक्रम हुनेछ ।

खुल्ला वक्तृत्वकला प्रतियोगितामा प्रथम हुनेलाई नगद ५ हजार, दोस्रो हुनेलाई ३ हजार र तेस्रो हुनेलाई २ हजारसहित प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै स्लो स्कुटी रेसमा विजयी हुनेलाई हेल्मेट पुरस्कार स्वरुप प्रदान गरिने छ ।

पत्रकार सम्मेलनमा हेटौंडा लेडी जेसीज वर्ष २०२३ की अध्यक्ष डिलमाया घर्ती, कार्यकारिणी उपाध्यक्ष अस्मिता न्यौपाने, उपाध्यक्ष नम्रता श्रेष्ठ, महासचिव सरस्वती थिङ लगायत विभिन्न सञ्चार माध्ययममा कार्यरत सञ्चारकर्मीहरुको उपस्थिति थियो ।